राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल सर्वाधिक मतसहित निर्वाचित

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्य चुनिएको छ। न्युयोर्कस्थित राष्ट्रसङ्घ मुख्यालयमा मङ्गलबार सम्पन्न मतदानमा महासभामा खसेका १८० मतमध्ये नेपालले १७३ मत पाएको छ। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट चुनिएका मुलुकमध्ये यो सबैभन्दा धेरै मत हो।
नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा लगातार दुई पटक परिषद्को सदस्य बनिसकेको छ। अब सन् २०२७ जनवरी १ देखि नेपालको तेस्रो कार्यकाल सुरु हुनेछ। राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले विज्ञप्ति जारी गर्दै समर्थन गर्ने सबै सदस्य राष्ट्रप्रति धन्यवाद व्यक्त गरेको छ।
बहुपक्षीयता, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घ केन्द्रित नियममा आधारित प्रणालीप्रति नेपालको प्रतिबद्धतामाथि भरोसा गरेकामा नियोगले आभार प्रकट गरेको छ। नियोगले नयाँ कार्यकालका लागि चुनिएका अन्य मुलुकलाई बधाई पनि दिएको छ। यही निर्वाचनबाट जापान, जर्मनी, ब्राजिल, आयरल्यान्ड, युक्रेन, उरुग्वे, नाइजेरिया, घाना, जाम्बिया, बुरुन्डी, जोर्डन, कुवेत, माल्दोभा र डोमिनिकन गणतन्त्र पनि परिषद्मा चुनिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


