७ कात्तिक २०८३ English
English

दसैँपछि मुस्ताङमा दुई दिनमै झन्डै ८ हजार पर्यटक, सौराहा र अन्नपूर्ण आधार शिविरमा पनि भीड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँपछि मुस्ताङमा दुई दिनमै झन्डै ८ हजार पर्यटक, सौराहा र अन्नपूर्ण आधार शिविरमा पनि भीड

YouTube मा सब्स्क्राइब

दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन तीव्र रूपमा बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार टीकापछिको बिहीबार र शुक्रबार दुई दिनमा करिब ७ हजार ८ सय पर्यटक बेनी–जोमसोम सडक हुँदै जिल्ला भित्रिएका छन्। बिहीबार करिब ३ हजार र शुक्रबार करिब ४ हजार ८ सय जना आएको प्रहरी निरीक्षक ईश्वर महतले बताउनुभएको छ।

घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनमा भने झन्डै ५ हजार ७ सय पर्यटक मात्र आएका थिए। तीमध्ये करिब ३ हजार ७ सय पुरुष र झन्डै २ हजार महिला थिए भने करिब ७८ प्रतिशत विदेशी थिए। असोज ११ गतेको भारी वर्षा र रसुवाको भोटेकोशी बाढीपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन सुस्ताएको थियो।

सडक बन्द हुँदा होटल र यातायात व्यवसाय पनि प्रभावित भएका थिए। चितवनको सौराहामा पनि दसैँ बिदामा परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको भीड देखिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पनि पर्यटक पुग्न थालेका छन्।

दसैँको दिन सयभन्दा बढी आन्तरिक पर्यटक हुमखोला हुँदै पदयात्रामा निस्किएकामा बिहीबार यो सङ्ख्या २५० पुगेको पदमार्ग अभियन्ता तेज गुरुङले बताउनुभएको छ। समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको यो शिविर ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर हो।

स्रोत

सम्बन्धित समाचार