चिसो बढेसँगै म्याग्दीका घुम्ती गोठ लेकबाट बेँसीतिर

चिसो बढ्न थालेसँगै म्याग्दीका पशुपालकले बर्खाभरि हिमाली चरन क्षेत्रमा राखेका घुम्ती गोठ गाउँनजिकका खर्कतिर झार्न थालेका छन्। पोषिलो घाँस पाइने हिमाली चरनलाई स्थानीय भाषामा बुकी र गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना पशु चराएपछि गोठ गाउँनजिक ल्याएको बताउनुभएको छ।
वैदेशिक रोजगारीबाट फर्केर करिब ३५ भैँसी पाल्दै आउनुभएका विकका अनुसार अहिले मकै भित्र्याइसकेको बारीमा रहेको गोठलाई कोदो थन्क्याएपछि मङ्सिरमा तलका फाँटमा सारिन्छ। घाँस खाएर मोटाएका पशुको बथान अगाडि लगाएर गोठालाहरू बन्दोबस्तीका सामान बोक्दै लेकबेँसी गर्छन्। गुर्जाकै राजिन छन्त्यालका अनुसार गोठाला फर्केपछि गाउँमा चहलपहल बढेको छ र गाउँछेउका पाखाबारी गाईगोरु, भैँसी र भेँडाबाख्राले भरिएका छन्।
धौलागिरि, अन्नपूर्ण र ढोरपाटन शिकार आरक्ष आसपासका किसानले परम्परागत घुम्ती गोठ प्रणालीबाट पशुपालन गर्दै आएका छन्। खेतबारीमा गोठ राख्दा जमिन मलिलो हुन्छ। कीर्तबहादुर घर्तीले भने युवा पुस्ताको बेवास्ता र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

