३१ असोज २०८३ English
English

कांग्रेस सभापति थापाले लिए शपथ, भने– म चुकेँ भने सभापतिबाट हटाउनुहोस्

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सभापति थापाले लिए शपथ, भने– म चुकेँ भने सभापतिबाट हटाउनुहोस्
तस्बिर: राजधानी

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार (असोज ३१) पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टीको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापतिमा निर्वाचित थापाले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएसँगै पदभार पनि ग्रहण गरेका हुन्।

शपथपछि बोल्दै सभापति थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने बताए। नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट हटाउन उनले पार्टी पंक्तिलाई आग्रह गरे। सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको र आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उनको भनाइ थियो।

थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। उनले समकालीन राजनीतिलाई सस्तो लोकप्रियतावादबाट वास्तविक लोकतन्त्रतर्फ लैजानुपर्ने र दिगो परिवर्तन व्यक्तिको चमत्कारले नभई प्रभावकारी संस्थाबाट मात्रै हुने बताए।

रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवालाई स्वाभिमानका साथ बाँच्ने वातावरण बनाउन कांग्रेसले इमानदार प्रयत्न थाल्नुपर्ने उनको भनाइ थियो। यसैबीच, सभापति पदमा थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले थापालाई बधाई दिएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार