मङ्गल ग्रहको माटोको पहिलो विस्तृत नक्सा तयार

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहको माटो वर्गीकरण गर्ने पहिलो विस्तृत प्रणाली र नक्सा बनाएका छन्। विश्वविद्यालयको विज्ञप्तिअनुसार टोलीले मङ्गलका करिब ८० करोड स्थानको विश्लेषण गरी माटोका करिब २ हजार प्रकार छुट्याएको छ। कक्षबाट गरिएको अवलोकन र वैज्ञानिक मोडेलका आधारमा बनेको नक्साले कुन किसिमको माटो कुन क्षेत्रमा पाइन्छ भन्ने देखाउँछ।
अध्ययनको नेतृत्व गर्ने विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि मङ्गलको भूगर्भ, खनिज संरचना र रासायनिक गुणको नक्साङ्कन भइसकेको थियो। नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै ढाँचामा राखेर तिनको आपसी सम्बन्ध र भौगोलिक फैलावट बुझ्न सघाउँछ। अध्ययनले माटोको बनावट, खनिज संरचना, पीएच स्तर र तहको मोटाइका आधारमा वर्गीकरण गरेको छ।
'नोहिबारेथ' नामको माटो बाली उत्पादनका लागि सम्भावनायुक्त देखिए पनि त्यसमा सिधै खेती गर्न नसकिने अध्ययनमा उल्लेख छ। यो नक्साले भविष्यमा मङ्गलमा अन्वेषण, मानव बस्ती र खाद्य उत्पादनका लागि उपयुक्त स्थान पहिचान गर्न सघाउने अपेक्षा गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

