विपद्मा एउटै कमाण्ड चाहिन्छ, अनियन्त्रित ड्रोनले जोखिम: सेना

विपद्पछिको उद्धार प्रभावकारी बनाउन छोटो र स्पष्ट जिम्मेवारीसहितको ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको प्रधानसेनापति अशोकराज सिग्देलले बताउनुभएको छ। भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी संसदीय विशेष समितिको शुक्रबारको बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको छ। आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ मा नेतृत्व स्पष्ट नतोकिँदा फिल्डमा सेना, सुरक्षा र नागरिक निकायबीच द्विविधा देखिएको उहाँको अनुभव छ।
भोटेकोशी बाढीपछि ३५ नटिकल माइलको क्षेत्रमा २१ वटा हेलिकप्टर उडाउँदा हवाई क्षेत्र व्यवस्थापन कठिन भएको उहाँले उल्लेख गर्नुभएको छ। विपद् प्रभावित क्षेत्रमा जथाभावी उडाइएका ड्रोनले हेलिकप्टरसँग ठोक्किने जोखिम बढाएको भन्दै प्रधानसेनापतिले हवाई क्षेत्रको प्रभावकारी व्यवस्थापन माग्नुभएको छ। सोही बैठकमा सहायक रथी सुवासजंग थापाले बूढीगण्डकीको सहायक स्यार खोला हिमपहिरोको गेग्रानले करिब दुई घण्टा थुनिएको जानकारी दिनुभएको छ।
त्यसपछिको बाढीले ६ वटा पुल बगाएको र ९१.५ किलोमिटर सडक अवरुद्ध पारेको थियो। सेनाले ६ दिने अभियानमा १ हजार २५ जनाको उद्धार गर्दै १३ हजार ९३० किलोग्राम राहत ढुवानी गरेको जनाएको छ। नेपालतर्फ फर्किएका कम्तीमा ४५ हिमताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको सेनाले संसदीय समितिलाई जानकारी दिएको छ।
पुनर्निर्माणको नेतृत्व जिल्ला विपद् व्यवस्थापन समितिले लिने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुपरिवेक्षण गर्ने व्यवस्था हुनुपर्ने सेनाको सुझाव छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


