कोशी ब्यारेजको विकल्पमा तीन किलोमिटर लामो नयाँ पुल बनाउने तयारी

सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलको विकल्पका रूपमा नयाँ पुल बनाउने तयारी भएको छ। प्रस्तावित पुल सप्तरी जिल्लाको कञ्चनपुरबाट सुरु भएर सुनसरी जिल्लाको राजाबाससम्म पुग्नेछ। सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार पुल करिब तीन किलोमिटर लामो र विशिष्ट प्रकृतिको हुनेछ।
केही वर्षअघि तयार भएको विस्तृत परियोजना प्रतिवेदनलाई आधार मानेर निर्माण अघि बढाउन लागिएको हो। निर्देशक ढकालले पुलको अनुमानित लागत करिब ४३ अर्ब रुपैयाँ रहेको जानकारी दिनुभएको छ। आयोजना एसियाली विकास बैंकको सहयोगमा निर्माण हुनेछ।
परियोजनाअन्तर्गत पुलसँगै करिब ४३ किलोमिटर नयाँ सडक पनि निर्माण गरिनेछ। पुल चालु भएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा करिब १४ किलोमिटरले छोटिनेछ। अहिले पुल र सडकको प्राविधिक तयारी तथा संरचना निर्माणका लागि चाहिने प्रक्रियागत काम भइरहेको निर्देशक ढकालले बताउनुभएको छ।
आयोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय र कानुनी स्वीकृतिका केही विषयमा पनि काम भइरहेको छ। कोशी ब्यारेज पुरानो हुँदै गएको र सवारी चाप बढ्दै गएकाले नयाँ पुलको तयारी गरिएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


