१ कात्तिक २०८३ English
English

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट प्रहरी नियन्त्रणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट प्रहरी नियन्त्रणमा

YouTube मा सब्स्क्राइब

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको छ। भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरको टोलीले उहाँलाई शनिबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो। परिसरका वरिष्ठ प्रहरी उपरीक्षक दिलिप घिमिरेले भट्टलाई पक्राउ गरिएको पुष्टि गर्दै उहाँमाथि अनुसन्धान जारी रहेको बताउनुभएको छ।

प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे पनि छानबिन हुनेछ। भट्टलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँकै हिरासतमा राखिएको छ। उहाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने वा प्रहरी आफैँले अनुसन्धान गर्ने भन्नेबारे छलफल भएको थियो।

छलफलपछि प्रहरीले नै अनुसन्धान अघि बढाउने भएको छ। प्रहरी स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै प्रहरी कार्यालय ल्याएपछि सुरु भएको अनुसन्धानमा भट्टको नाम जोडिएको थियो। त्यसपछि भट्ट प्रहरीको अनुसन्धानको दायरामा हुनुहुन्थ्यो।

उक्त अनुसन्धानका क्रममा जबरासँग भट्टको कुराकानी भएको देखिएको थियो। सोही प्रकरणमा पक्राउ परेका एक व्यक्तिको बयान, फोन सम्पर्क र अन्य गतिविधिमा भट्टको सम्बन्ध देखिएको प्रहरीको भनाइ छ। ती व्यक्तिसँगको कारोबार र सम्पर्क जोडिएपछि भट्टलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार