बूढीगण्डकीले पुल बगाएपछि तार र घिर्नीबाट खाद्यान्न ढुवानी

गोरखाको धार्चे गाउँपालिकामा बूढीगण्डकीको बाढीले झोलुङ्गे पुल बगाएपछि केरौजावेशीमा तार र घिर्नीको सहायताले खाद्यान्न पठाइएको छ। बाढीले खोर्लाबेसी र केरौजावेशी जोड्ने पुल बगाएदेखि त्यहाँ खाद्यान्न ढुवानी रोकिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभएको छ। खाद्य संकट आउन नदिन स्थानीय जुगाड गरिएको उहाँको भनाइ छ।
नदीको वारिपारि बिजुलीको तार टाँगिएको छ। वारि खोर्लाबेसीतर्फ झोलुङ्गे पुलकै संरचना र पारि केरौजावेशीतर्फ रूखको सहारामा तार बाँधिएको छ। ग्याबिन तारले बनाएको रिङ र जालीमा सानो बाकस अड्याएर घिर्नीको मद्दतले तारमा ओहोरदोहोर गराइन्छ।
सोही बाकसमा चामल, नुन, तेल र चिनीजस्ता खाद्यान्न नदी पार गराइएको छ। नदी तारेपछि स्थानीयले सामान बोकेर गाउँसम्म पुर्याउने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ। असोज ३० गतेदेखि खाद्यान्न पठाउन थालिएको र ३१ गते पनि ढुवानी जारी रहेको उहाँले बताउनुभएको छ।
केरौजावेशीमा कुल १५ घरधुरी छन्। असोज २५ गतेको बाढीले धार्चे गाउँपालिकामा मात्रै चारवटा पुल बगाएको छ। माछाखोला र लामाबेसी जोड्ने पुल, वडा नम्बर १ र ३ जोड्ने दोभान र ठाडोभर्याङका झोलुङ्गे पुल तथा दोभान–खोत्राङ बेलिब्रिज बगेका छन्।
यसले केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशी जाने बाटो अवरुद्ध भएको छ। ती क्षेत्रका करिब ८ सय घरधुरी सम्पर्कविहीन बनेको बताइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
