कांग्रेस सहमहामन्त्री (मुस्लिम) मा फिरदोस आलम निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोस आलम निर्वाचित हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार उहाँले करिब ३ हजार ३ सय मत प्राप्त गर्नुभएको छ।
प्रतिस्पर्धी अब्दुल सत्तारले करिब २ हजार ७ सय र अतहर कमाल मुसलमानले करिब ५ सय ६० मत पाउनुभएको छ। आलम पूर्वमन्त्री अफताब आलमका छोरा हुनुहुन्छ र गत फागुनको निर्वाचनमा रौतहट २ बाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा.
अताबुल मंसुरी, मोहम्मद इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित हुनुभएको छ। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुनले सबैभन्दा धेरै मत ल्याएर जित्नुभएको छ। विजयपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आलमले पार्टीलाई एकजुट गरी नयाँ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम नेता भएकाले सबैलाई समेटेर अघि बढ्नुहुने उहाँको भनाइ छ। देशमा सङ्कट आउँदा कांग्रेसले नै नेतृत्व गरेर समाधान दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि त्यही भूमिका निभाउने बताउनुभएको छ। विगतमा नेतृत्व तहबाट भएका कमीकमजोरी सुधार्दै पार्टीले आफ्नो ऐतिहासिक पहिचान कायम राख्ने उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


