देउवा पक्षको महाधिवेशनमा निर्वाचित जनप्रतिनिधि स्वतः प्रतिनिधि

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो १५औँ महाधिवेशनमा स्वतः प्रतिनिधि बनाउने निर्णय गरेको छ। समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले दुई दिनअघि जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर यो निर्णय कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ। पत्रअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख यो व्यवस्थामा समेटिएका छन्।
प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका बहालवाला सांसद पनि आफू चुनिएकै क्षेत्रबाट केन्द्रीय महाधिवेशनका प्रतिनिधि बन्नेछन्। पत्रमा हाल पदमा रहेका जनप्रतिनिधिलाई मात्र यो व्यवस्था लागू हुने उल्लेख छ। यी जनप्रतिनिधिले प्रतिनिधि बन्न अधिवेशनमा चुनाव लड्नुपर्ने छैन।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि वडामा चुनाव नलडी स्वतः प्रतिनिधि रहने व्यवस्था समूहले गरेको छ। गगन थापा नेतृत्वको कांग्रेसले भने यस्तो स्वतः प्रतिनिधिको व्यवस्था हटाइसकेको छ। निवर्तमान सभापति देउवा नेतृत्वको समूहले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै अर्थात् समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
त्यसअघि वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका समूहले बनाएको छ। हाल समूहका विभिन्न तहका अधिवेशन जारी छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


