लिगलिग दौड हुन सकेन, पालुङटार नगरपालिकाको आपत्ति

गोरखाको पालुङटार नगरपालिकाले आयोजना गर्न लागेको ऐतिहासिक लिगलिगे दौड जिल्ला प्रशासनको रोकपछि बिहीबार हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चुडामणि अधिकारीले बुधबार साँझ पत्र पठाउँदै नगरपालिका र लिगलिग विकास अभियानलाई सुरक्षा दिन नसकिने जानकारी दिएका थिए। नगरपालिकाले असोज २९ र अभियानले असोज ३० मा छुट्टाछुट्टै दौड गर्ने तयारी गरेका थिए, र दुई पक्षबीच सहमति हुन सकेको थिएन।
चेपेघाटदेखि लिगलिगकोटसम्म दौडन विभिन्न जिल्लाबाट आएका धावकलाई नगरपालिकाले लिगलिगकोट घुमाएर यातायात खर्चसहित फर्काउन लागेको छ। मेयर बिबश चिन्तनले सबै तयारी सकिएपछि अन्तिम समयमा आएको रोकले स्थानीय सरकारको अधिकार मिचिएको बताउनुभएको छ। सुरक्षामा चुनौती दिने पक्षलाई नियन्त्रण गर्नुको सट्टा कार्यक्रम नै रोकेर प्रशासनले गलत प्रवृत्तिलाई बढावा दिएको उहाँको आरोप छ।
उहाँका अनुसार अन्य पालिकासँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिनिधिमण्डल लैजाने तयारी छ। विगतमा दौडमार्फत एक वर्षका लागि राजा छान्ने परम्परा रहे पनि पछिल्ला वर्षहरूमा यो क्रम रोकिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


