प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ, छठपछि चरणबद्ध आन्दोलन

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशको विरोध गर्दै छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सरोकारवालासँग छलफलविना ल्याइएको अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ। महासंघको टोलीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्ने अध्यादेश जारी नगर्न आग्रह गरेको छ।
संसद् छलेर अध्यादेशबाट कानुन ल्याउनु लोकतान्त्रिक विधिअनुकूल नभएको टोलीले राष्ट्रपतिलाई बताएको महासचिव रामप्रसाद दाहालको विज्ञप्तिमा उल्लेख छ। भेटमा राष्ट्रपति पौडेलले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै अध्यादेशका प्रावधानबारे वरिष्ठ अधिवक्तासँग परामर्श गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ। बैठकले समाचार कक्षमै प्रहरी पसेर पत्रकार धरपकड गरिएको घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
गोरखापत्रलगायत सञ्चारमाध्यमबाट पत्रकार हटाउने र पारिश्रमिक तथा चाडपर्व खर्च नदिने कामलाई महासंघले श्रम अधिकारको उल्लङ्घन ठहर गरेको छ। कटौती गरिएको लोककल्याणकारी विज्ञापनको रकम प्रेस काउन्सिलको सिफारिसअनुसार दिन पनि माग गरिएको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि अध्यादेश फिर्ता लिन माग गर्दै संसद्मा रहेको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ।
यसैबीच प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


