नेपालमा हुने विश्वकप छनोट प्लेअफको तालिका सार्वजनिक, पहिलो खेल इटालीसँग

नेपालमा हुने आइसिसी विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुनेछ। आयोजक नेपालले डिसेम्बर ४ मा इटालीविरुद्ध उद्घाटन खेल खेल्नेछ।
त्यसपछि नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा संयुक्त अरब इमिरेट्स र १२ मा जर्सीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले डिसेम्बर १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग अन्तिम खेल खेल्नेछ। उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ भने सोही दिन माथिल्लो मूलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डा भिड्नेछन्।
प्रतियोगिताका सबै खेल यिनै दुई मैदानमा हुनेछन्। आठ टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन ढाँचामा हुनेछ, जहाँ प्रत्येक टोलीले सात खेल खेल्नेछ। विश्वकप लिग–२ को तल्लो स्थानमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट आएका इटाली, कुवेत, युगान्डा र जर्सी सहभागी छन्।
शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पाउनेछन्। वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेका छन्। अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान लिग–२ को शीर्ष चारमा परेर छनोट भएका हुन्।
प्लेअफबाट आउने चार टोलीसहित अर्को वर्ष हुने ग्लोबल क्वालिफायरमा १० टोली हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


