पदक वितरणमा मनपरीको आरोपपछि गण्डकी खेलकुद परिषद्का सदस्यसचिव पदमुक्त

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ। सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनका अनुसार बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटिको आरोपमा उहाँलाई हटाउने निर्णय गरेको छ। शुक्रबार मन्त्रालयमार्फत बर्खास्तीको पत्र परिषद्मा दर्ता गरी शर्मालाई जानकारी गराइएको छ।
परिषद्ले गत असार ३० गते बाँडेको पदक छनोट समितिमै रहेका व्यक्तिहरूले पाएपछि विवाद सुरु भएको थियो। त्यसपछि मन्त्री रेखा गुरुङले सचिव डा. शेषनारायण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाउनुभएको थियो।
सोही समितिको प्रतिवेदनका आधारमा कारबाही अघि बढाएर सरकारले शर्मालाई हटाएको हो। सचिव पौडेलका अनुसार परिषद्को काम नरोकियोस् भनेर प्रदेश खेलकुद ऐनबमोजिम नयाँ व्यवस्था नहुँदासम्म खेलकुद महाशाखा प्रमुख उपसचिव दीपेन्द्र परियारलाई कार्यवाहक सदस्यसचिव तोकिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


