यमदीपदानसँगै तिहार सुरु, आज काग तिहार; पटकाले पशुपन्छी त्रसित

कार्तिक कृष्ण त्रयोदशीका दिन हिजो बेलुकी यमदीपदानसँगै यमपञ्चक अर्थात् तिहार सुरु भएको छ भने आज शनिबार काग तिहार मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार साँझ त्रयोदशी परेको दिन दीपदान र बिहान त्रयोदशी परेको दिन काग तिहार मनाउने शास्त्रीय नियमअनुसार यो तालिका बनाइएको हो।
धनत्रयोदशी हिजै परे पनि धन्वन्तरि जयन्ती आज परेको छ। तिथि घटबढका कारण भोलि आइतबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा एकै दिन पर्ने समितिले जनाएको छ। भोलि बिहान अरुणोदयकालअघि अपामार्गसहित नरक स्नान गर्ने परम्परा छ।
सोमबार २३ गते गाईपूजा र मङ्गलबार २४ गते गोरुपूजा, गोवर्द्धनपूजा तथा म्हपूजा हुनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ सुरु हुनेछ। बुधबार २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ।
सर्वसाधारणले मध्याह्नमा टीका लगाउँदा पनि शास्त्रसम्मत हुने समितिको भनाइ छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार परिवारका सदस्य सङ्ख्याअनुसार दक्षिणतर्फ फर्काएर दीप दान गरिन्छ।
दीपदान भाइटीकाको दिनसम्म गर्ने शास्त्रीय विधि रहेको गौतमले बताउनुभएको छ। यसैबीच पटकाको चर्को आवाजले कुकुर, काग र अन्य चराचुरुङ्गी त्रसित हुने भन्दै त्यसको विरोध सुरु भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


