एलडीसी स्तरोन्नतिको तयारीका लागि नेपाललाई थप तीन वर्ष

संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीका लागि नेपाललाई थप तीन वर्ष दिएको छ। न्युयोर्कमा बसेको महासभाको ८१औँ सत्रले प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि नेपालको स्तरोन्नति मिति अब २४ नोभेम्बर २०२९ तोकिएको छ। यसअघि नेपाल २४ नोभेम्बर २०२६ मा सूचीबाट बाहिरिने तय थियो।
सोही प्रस्तावले बङ्गलादेशलाई पनि थप तयारी अवधि दिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले गत मे महिनामा संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिका अध्यक्षलाई पत्र पठाएर समय थप्न अनुरोध गर्नुभएको थियो। आर्थिक जोखिम घटाउन र स्तरोन्नतिपछिका चुनौती सामना गर्न संस्थागत तयारी आवश्यक रहेको सरकारको तर्क थियो।
नेपालले सन् २०१५ मै तीनमध्ये दुई मापदण्ड पूरा गरेको थियो। तर २०७२ सालको भूकम्प र त्यसपछिका प्राकृतिक विपद्को असर देखाउँदै सरकारले प्रक्रिया तत्काल अघि नबढाउन आग्रह गरेको थियो। नेपालले स्तरोन्नतिका लागि थप समय पाएको यो दोस्रोपटक हो।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ। नेपालले थप समयलाई उत्पादन क्षमता बढाउन, संस्थागत सुदृढीकरण र आर्थिक तथा सामाजिक रूपान्तरणमा उपयोग गर्ने जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


