समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापकको सेयर पुँजी घटाइयो

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापक सेयरधनीको सेयर पुँजी घटाएर एक प्रतिशतमा झारिएको छ। राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले बैंक पुनर्संरचनाको प्रक्रियाअन्तर्गत यो निर्णय गरेको हो। निक्षेप हिनामिना र कमजोर वित्तीय सुशासन देखिएपछि राष्ट्र बैंकले यो बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।
निर्णयअनुसार ती संस्थापकको करिब २१ लाख ३६ हजार कित्ता संस्थापक सेयर घटेर करिब २१ हजार ३६० कित्तामा खुम्चिएको छ। उनीहरूको साधारणतर्फको करिब १२ हजार ६८४ कित्ता सेयर पनि घटाएर करिब १२६ कित्ता कायम गरिएको छ। संस्थापक र साधारण गरी ३५ सेयरधनीको करिब २१ लाख ४८ हजार कित्ता सेयर अब करिब २१ हजार ४८७ कित्तामा सीमित भएको छ।
समस्याग्रस्त घोषणापछि गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनमा बैंकको सम्पत्तिले दायित्व धान्न नसक्ने देखिएको थियो। व्यवस्थापन समूहका अनुसार यी सेयरधनीले गैरकानुनी तरिकाले पुँजी चुक्ता गरेका थिए। व्यवस्थापन समूहले सेयर पुँजी घटाउने निर्णय अद्यावधिकका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरिसकेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


