९ कात्तिक २०८३ English
English

कात्तिक १७ र १८ मा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कात्तिक १७ र १८ मा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’

YouTube मा सब्स्क्राइब

बालबालिकाका लागि सञ्चालन हुँदै आएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम यस पटक आगामी कात्तिक १७ र १८ गते देशभर सञ्चालन हुने भएको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ती दुई दिनमा देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। सोही अवधिमा करिब २० लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाउने तयारी गरिएको छ।

सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो चरणको यो कार्यक्रम नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते गर्ने गरेको थियो। यस वर्ष ती दिन दसैँको बिदा परेपछि कार्यक्रम स्थगित गरी नयाँ मिति तय गरिएको हो। पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दिइनेछ।

जुकाको औषधि भने एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाले पाउनेछन्। थापाले आवश्यक क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछन्।

उनीहरूसँगै करिब १० हजार स्वास्थ्यकर्मी पनि वितरणमा खटिनेछन्। सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल नियमित रूपमा खुवाउँदै आएको छ भने जुकाको औषधि वितरण २०५६ सालदेखि सुरु गरिएको हो।

स्रोत

सम्बन्धित समाचार