९ कात्तिक २०८३ English
English

फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किए, कुशल परेरा जनकपुरमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किए, कुशल परेरा जनकपुरमा

YouTube मा सब्स्क्राइब

एनपीएलमा कर्णाली याक्सबाट खेल्न काठमाडौं आएका पाकिस्तानी टी–ट्वान्टी कप्तान साहिबजादा फरहान राष्ट्रिय टोलीमा बोलाइएपछि स्वदेश फर्किने भएका छन्। पाकिस्तानले उहाँलाई श्रीलङ्काविरुद्धको एकदिवसीय शृङ्खलाका लागि टोलीमा समावेश गरेको छ। फरहान दुई दिनअघि मात्र नेपाल आइपुग्नुभएको थियो।

कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि फरहान एनपीएलमा फर्किने सम्भावना छ। बीचको अवधिका लागि अर्को खेलाडी ल्याउने तयारी भइरहेको उहाँले बताउनुभएको छ। पाकिस्तान क्रिकेट बोर्ड, पीसीबीले अनापत्ति प्रमाणपत्रका लागि थप करिब २५ हजार अमेरिकी डलर मागेको घिमिरेको भनाइ छ।

खेलाडी प्रमाणपत्रसहित नेपाल आइसकेपछि थप रकम मागिएकोमा उहाँले असन्तुष्टि जनाउनुभएको छ। कर्णाली उक्त रकम तिर्न तयार भए पनि राष्ट्रिय टोलीमा छनोट भएपछि फरहानलाई रोक्ने विकल्प नरहेको उहाँले बताउनुभएको छ। यता, श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्धित हुनुभएको छ।

जनकपुरले फेसबुकमार्फत यसको जानकारी दिएको छ। ३६ वर्षीय परेराले ९५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा २ हजार ३ सयभन्दा बढी रन बनाउनुभएको छ। उहाँले आईपीएल, सीपीएल र पीएसएलसहित सातवटा फ्रेन्चाइज लिग खेलिसक्नुभएको छ र एनपीएल उहाँको आठौँ लिग हुनेछ।

जनकपुरले परेरासँगै इङ्ग्ल्यान्डका मोइन अलीलगायतका खेलाडीलाई पनि अनुबन्ध गरेको छ। एनपीएलको तेस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर ५ गतेसम्म चल्नेछ। यस संस्करणमा पहिलो पटक डीआरएस प्रयोग हुँदैछ।

स्रोत

सम्बन्धित समाचार