भारतमा नेपाली संगीत: नेपथ्य गान्तोकमा, प्रमोद खरेल आसाममा

लोकरक ब्यान्ड नेपथ्यले भारतको सिक्किमको राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा कात्तिक १४ अर्थात् अक्टोबर ३१ मा कन्सर्ट गर्ने तयारी गरेको छ। नेपथ्य सिक्किममा प्रस्तुत हुन लागेको यो चौथो पटक हो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र नेपथ्यको नाम अङ्कित टिसर्ट सार्वजनिक गर्नुभएको छ।
आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थका अनुसार सिक्किमवासीले लामो समय सम्झिने गरी कन्सर्टको तयारी भइरहेको छ। लामो समयदेखि फुटबल प्रतियोगिता हुँदै आएको यो स्टेडियमलाई तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामबाट उद्घाटन गराएर बहुउद्देश्यीय बनाइएको हो। यसैबीच, गायक प्रमोद खरेल र परम्परा ब्यान्डले दसैँको अवसरमा भारतको आसाममा दुई दिन सांगीतिक प्रस्तुति दिएका छन्।
अक्टोबर १९ मा सोनितपुर जिल्लाको लोखरा र अक्टोबर २० मा उदालगुरीमा कार्यक्रम भएको थियो। लोखरामा स्थानीयले असमिया गम्छा ओढाएर र नेपाली समुदायले ढाका टोपी लगाइदिएर खरेललाई स्वागत गरेका थिए। त्यो स्वागतले आफू निकै भावुक भएको खरेलले सुनाउनुभएको छ।
स्थानीयका अनुसार लोखरामा यति धेरै मानिस जम्मा भएको सांगीतिक कार्यक्रम यो पहिलो थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

