१६ कात्तिक २०८३ English
English

पत्रकार धरपकड: संसदीय छानबिनको माग, इन्सेकको आपत्ति, बेनको व्यङ्ग्यमाथि आलोचना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार धरपकड: संसदीय छानबिनको माग, इन्सेकको आपत्ति, बेनको व्यङ्ग्यमाथि आलोचना

YouTube मा सब्स्क्राइब

शुक्रबार साँझ सञ्चारगृहभित्रै पसेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको संसदीय छानबिन हुनुपर्ने माग उठेको छ। नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा संसदीय छानबिन समिति गठन गरेर जवाफदेहिता सुनिश्चित गर्न माग गरिएको छ। समाचारको स्रोत खोज्ने नाममा प्रहरी न्युजरुममा पस्नु अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथि सीधा प्रहार भएको फ्रन्टको ठहर छ।

फ्रन्टका अनुसार प्रधानमन्त्री सचिवालय, गृह मन्त्रालय र प्रहरीले घटनाबारे अनभिज्ञता देखाउँदै जिम्मेवारी पन्छाएका छन्। फ्रन्टले सत्ता र प्रतिपक्ष दुवैतर्फका दललाई घटनाबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न पनि आग्रह गरेको छ। मानव अधिकार संस्था इन्सेकले पनि पत्रकारलाई डर देखाउने काम लोकतन्त्रमा स्वीकार्य नहुने भन्दै आपत्ति जनाएको छ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले सरकारी निकाय र राजनीतिक दलले अनभिज्ञता देखाउँदा घटना झन् रहस्यमय बनेको उल्लेख गर्नुभएको छ। इन्सेकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पक्राउ परेका तीन पत्रकारलाई चौतर्फी आलोचनापछि सोही दिन छाडिएको थियो।

प्रधानमन्त्रीको सचिवालयले २८ पत्रकारको सूची प्रहरीलाई दिएको दाबीसहित एक दैनिकमा समाचार छापिएपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले फेसबुकमा व्यङ्ग्य गर्नुभएको छ। उहाँले २० पत्रकारलाई ट्याग गर्दै ‘२८ मा नपर्ने नि के पत्रकार’ भन्ने आशयको टिप्पणी गरेपछि आलोचना भएको छ।

स्रोत

सम्बन्धित समाचार