१६ कात्तिक २०८३ English
English

ट्राफिक व्यवस्थापन स्मार्ट प्रणालीतर्फ लैजान सभापति गजुरेलको जोड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ट्राफिक व्यवस्थापन स्मार्ट प्रणालीतर्फ लैजान सभापति गजुरेलको जोड

YouTube मा सब्स्क्राइब

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई चोकमा उभ्याएर सवारी चलाउने अभ्यास अन्त्य गरी स्मार्ट प्रणालीबाट यातायात व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी अन्तरक्रियामा उहाँले यस्तो धारणा राख्नुभएको हो। सभापति गजुरेलका अनुसार ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी नियम मिच्नेलाई कारबाही गर्ने र सडक सुरक्षाबारे जनचेतना फैलाउने हुनुपर्छ।

उपत्यकाका विभिन्न स्थानमा नयाँ ट्राफिक बत्ती जडान गर्ने र नबलेका पुराना बत्ती मर्मत गर्ने काम अहिले भइरहेको उहाँले जानकारी दिनुभयो। ट्राफिक कन्ट्रोल रुमलाई प्रविधिमैत्री बनाउन थप लगानी गरिने पनि उहाँले बताउनुभएको छ। विकसित देशको उदाहरण दिँदै उहाँले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा लागू भए पैदलयात्रुको आकाशे पुलमाथिको निर्भरता घट्ने बताउनुभयो।

तर आवश्यक ठाउँमा आकाशे पुल निर्माण जारी रहने उहाँले स्पष्ट पार्नुभएको छ। सडकमा खटिने ट्राफिक प्रहरीका लागि बस्ने ठाउँ, पिउने पानी र शौचालयको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। सोही कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमिततामा संलग्न ट्राफिक प्रहरीलाई कुनै छुट नदिइने बताउनुभएको छ।

प्रवक्ता नरेशराज सुवेदीले ट्राफिक प्रहरीको काम सवारी आवागमन मिलाउनमा मात्र सीमित नभई नागरिकको जीवनरक्षा र सडक अनुशासनसँग पनि जोडिएको बताउनुभयो।

स्रोत

सम्बन्धित समाचार