१८ कात्तिक २०८३ English
English

कर्णालीको कृषिमा इजरायली प्रविधि भित्र्याउने विषयमा मुख्यमन्त्री र राजदूतबीच छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कर्णालीको कृषिमा इजरायली प्रविधि भित्र्याउने विषयमा मुख्यमन्त्री र राजदूतबीच छलफल

YouTube मा सब्स्क्राइब

इजरायलका राजदूत स्मुलिक अरियल बास र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबीच कर्णालीको कृषिमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल भएको छ। शिष्टाचार भेटमा नेपाल र इजरायलबीचको ऐतिहासिक र कूटनीतिक सम्बन्ध सम्झँदै प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली र प्रविधि हस्तान्तरणबारे गहिरो छलफल भएको मुख्यमन्त्री शाहीले बताउनुभएको छ। उहाँका अनुसार इजरायलले कृषि क्षेत्रमा विकास गरेको आधुनिक प्रविधिलाई कर्णालीको भूगोलसुहाउँदो ढङ्गले प्रयोग गर्ने विषयमा कुराकानी भएको छ।

‘सिक्दै सिकाउँदै’ कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर दिलाउने विषय पनि छलफलमा उठेको छ। इजरायलबाट फर्किएका नेपाली जनशक्तिको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने सम्भावनामाथि पनि कुरा भएको छ। कृषि, खानेपानी, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा कर्णालीसँग सहयोग र साझेदारी बढाउन इजरायल सधैँ सकारात्मक रहेको राजदूत बासले बताउनुभएको छ।

भेटमा सरकारी प्रणालीमार्फत नेपालीलाई इजरायलमा केयरगिभरका रूपमा रोजगारी दिलाउने अवसरबारे पनि विमर्श भएको छ। दुई देशका जनताबीचको सम्बन्ध अझ फराकिलो बनाउने र विपद् व्यवस्थापनका विषय पनि छलफलमा समेटिएका थिए।

स्रोत

सम्बन्धित समाचार