भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल्न काठमाडौँ आइपुगे

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मङ्गलबार काठमाडौँ आइपुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय दूतावासका अधिकारीहरूले उहाँलाई स्वागत गरेका छन्। उहाँ एयर इन्डियाको उडानबाट आउनुभएको हो र बुधबारदेखि दूतावासमा जिम्मेवारी सुरु गर्ने जनाइएको छ।
भारतले असोजको अन्तिम साता उहाँलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएका दलेलाले कूटनीतिक यात्रा इजरायलको तेल अभिभबाट थाल्नुभएको भारतीय दूतावासले जनाएको छ। उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीका भारतीय नियोगमा काम गरिसक्नुभएको छ।
सन् २०२२ देखि २०२५ सम्म उहाँ भुटानका लागि भारतीय राजदूत हुनुहुन्थ्यो। सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकको जिम्मेवारी पनि उहाँले सम्हाल्नुभएको थियो। नेपाल आउनुअघि उहाँ भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव हुनुहुन्थ्यो।
अघिल्ला राजदूत नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नियुक्त गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला दलेला नेपाल आइपुग्नुभएको हो। सोही भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव विक्रम मिश्री पनि छिट्टै नेपाल आउने कार्यक्रम छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


