तनहुँको थानीमाई मन्दिरमा एकै दिन ९१ फूलका डोली

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा मंगलबार एकै दिन ९१ वटा फूलका डोली चढाइएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट २ वटा डोली ल्याइएका थिए। अध्यक्ष थापाका अनुसार मंगलबार करिब ९ हजार ५०० भक्तजनले दर्शन र पूजा गरेका छन्।
सोमबार राति ४२१ जना भक्तजन जाग्राम बसी बत्ती बालेका थिए। डोली चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको अध्यक्ष थापाले बताउनुभएको छ। परम्पराअनुसार सोमबार घरमा सत्यनारायण पूजा गरेर डोली तयार गरिन्छ र मंगलबार मन्दिरमा चढाइन्छ।
भक्तजन पञ्चैबाजाको तालमा नाच्दै मन्दिरको तीन पटक परिक्रमा गर्छन्। मन्दिर परिसरमा बिहानैदेखि भजनकीर्तन र पूजाआराधना चलेको थियो। वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैतका मंगलबार यहाँ डोली चढाउने चलन छ, र ती दिन विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

