१८ कात्तिक २०८३ English
English

गुण्डुमा थापा–ओली भेट, मधेस सरकारबारे छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गुण्डुमा थापा–ओली भेट, मधेस सरकारबारे छलफल

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ मधेस प्रदेश सरकारको विषयमा छलफल भएको छ। सभापति थापा भक्तपुरको गुण्डुस्थित ओली निवास पुग्नुभएको थियो र दुवै नेताबीच करिब एक घण्टा कुराकानी भएको छ। थापानिकट स्रोतका अनुसार भेटमा मधेस सरकारको राजनीतिक समीकरणसँगै पछिल्ला राजनीतिक घटनाक्रममाथि पनि छलफल भएको छ।

तर दुवै पक्षले भेटको औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। सभापतिमा निर्वाचित भएपछि थापा र ओलीबीचको यो पहिलो भेट हो। मधेस प्रदेशमा हाल कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ।

एमालेले गत असोजमा समर्थन फिर्ता लिएपछि उक्त सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ। सभामुख रामआशिष यादवले यसबारे अहिलेसम्म आफूलाई जानकारी नआएको बताउनुभएको छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

यसअघि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच नयाँ सरकार गठनबारे छलफल अघि बढेको थियो।

स्रोत

सम्बन्धित समाचार