काँकडभिट्टामा श्रम संस्कृति पार्टीको जनसभा, सुकुम्बासीलाई जग्गाको वाचा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो दल सत्तामा पुगेको दिन भूमिहीन सुकुम्बासीका लागि जग्गा र आवासको उचित प्रबन्ध गर्ने बताउनुभएको छ। झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मंगलबार पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो। सुकुम्बासी समस्या समाधान गर्ने विषयमा वर्तमान सरकार गम्भीर नबनेको र गैरजिम्मेवार देखिएको आरोप अध्यक्ष राईले लगाउनुभएको छ।
सरकारमा नरहेकाले अहिलेसम्म आफ्नो पार्टीले यो मुद्दामा आवाज उठाउन मात्र सकेको उहाँको भनाइ छ। श्रम संस्कृति पार्टी श्रमजीवी र गरिब जनताको अधिकारको पक्षमा दृढ रहेको दाबी पनि उहाँले गर्नुभएको छ। पार्टीका कार्यकर्ताले देशका विभिन्न भागमा गरिबका लागि श्रमदान गरेर आफ्नो राजनीतिक उद्देश्य कामबाटै पुष्टि गरिरहेको अध्यक्ष राईको दाबी छ।
जनसभामा उहाँले झापाका बासिन्दाले लामो समयदेखि जङ्गली हात्तीको आतंक झेल्नुपरेको विषय पनि उठाउनुभयो। हात्तीको आतंक झेलिरहेका स्थानीयसहित हरेक नागरिकको जीउधनको सुरक्षा गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ। काँकडभिट्टाको सभा सकिएपछि सोही दिन पार्टीले झापाकै अर्जुनधारामा अर्को सभा आयोजना गरेको थियो।
त्यहाँ उत्पादनमूलक काम र श्रमप्रतिको सम्मानले नै देश सुखी र समृद्ध बन्ने विचार अध्यक्ष राईले व्यक्त गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


