१८ कात्तिक २०८३ English
English

सडक सुधारका लागि एडीबीबाट ऋण र अनुदान लिने निर्णय, टिकौली जंगलमा वन्यजन्तुमैत्री आकाशे पुल बनाइने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सडक सुधारका लागि एडीबीबाट ऋण र अनुदान लिने निर्णय, टिकौली जंगलमा वन्यजन्तुमैत्री आकाशे पुल बनाइने

YouTube मा सब्स्क्राइब

मन्त्रिपरिषद्ले सडक सुधारका लागि एसियाली विकास बैंक, एडीबीबाट ऋण र अनुदान गरी करिब ३०५ मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसमा २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान रहेको जानकारी दिनुभएको छ। ऋणको रकम करिब ४३ अर्ब रुपैयाँ र अनुदान करिब ३ अर्ब रुपैयाँ बराबर हुन्छ।

ऋणबाट नारायणगढ–हेटौँडा करिब ७० किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिनेछ। मुग्लिनदेखि मर्स्याङ्दीसम्म नदीपारि दुई लेनको सडक पनि बनाइनेछ। अनुदानको रकम चितवनको टिकौली जङ्गलमा करिब २ किलोमिटर लामो वन्यजन्तुमैत्री आकाशे पुल बनाउन खर्च हुनेछ।

एडीबीकै सुझावमा प्रस्ताव गरिएको उक्त पुल निर्माणमा करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। बैठकले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र जैविक मललाई आवश्यक पदार्थको सूचीमा राख्दै मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गरेको छ। मोही लागेको जग्गा बाँडफाँटका लागि निवेदन दिने म्याद २०८५ कात्तिकसम्म र प्रक्रिया टुङ्ग्याउने म्याद २०८६ असारसम्म थपिएको छ।

तुर्कीको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन, कोप ३१ मा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने निर्णय पनि भएको छ। बैठकले प्रेस काउन्सिल ऐनसहित केही ऐन संशोधन गर्ने दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस पनि गरेको छ।

स्रोत

सम्बन्धित समाचार