विपद्पछिको पुनर्निर्माणमा सघाउन अर्थमन्त्री वाग्लेको एडीबीलाई आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एसियाली विकास बैंक, एडीबीलाई अनुरोध गर्नुभएको छ। बैंककमा भइरहेको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको अवसरमा मन्त्री वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो।
भेटमा मन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणसँगै नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि स्रोत जुटाइदिन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ। भविष्यमा आउन सक्ने विपद्को जोखिम थेग्न सक्ने पूर्वाधार निर्माणमा एडीबीको सहयोगबारे पनि दुवै पक्षबीच छलफल भएको जनाइएको छ। विनाशकारी बाढीपछि उद्धार कार्यका लागि आपत्कालीन अनुदान तुरुन्तै स्वीकृत गरेकामा र ऐक्यबद्धता देखाएकामा मन्त्री वाग्लेले बैंकप्रति नेपालको तर्फबाट आभार प्रकट गर्नुभएको छ।
अध्यक्ष कान्दाले नेपालको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि उपस्थित हुनुहुन्थ्यो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


