२७ असोज २०८३ English
English

अपडेट – बूढीगण्डकी बाढी: तीन सयभन्दा बढीको उद्धार, सडक र पुल मर्मत तीव्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अपडेट – बूढीगण्डकी बाढी: तीन सयभन्दा बढीको उद्धार, सडक र पुल मर्मत तीव्र

YouTube मा सब्स्क्राइब

गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढीपछि उद्धार, राहत र सडक मर्मतको काम तीव्र पारिएको छ। सिरिङ्गे हिमालमा गएको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएपछि नदीमा बाढी आएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार भइसकेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ७०३ सुरक्षाकर्मी परिचालित छन्। नेपाली सेनाका तीन हेलिकप्टरले आइतबारदेखि नै अलपत्र परेकाहरूलाई उनीहरू फसेकै ठाउँबाट ल्याइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभएको छ। ती हेलिकप्टरले प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, सोलार, जेनेरेटर र लत्ताकपडासहितका राहत सामग्री पनि पुर्‍याइरहेका छन्।

बाढीले गोरखा र धादिङमा दुई सयभन्दा बढी घर, खानेपानी, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालय र मनास्लु पदमार्गमा क्षति पुर्‍याएको छ। गोरखा–धादिङ जोड्ने मुख्य सडकका पुलहरू पनि क्षतिग्रस्त भएका छन्। आरुघाट–सल्यानटार जोड्ने पुलमा बेलिब्रिज राख्न हेटौँडाबाट सामग्री ल्याइएको छ र नेपाली सेनाले काम सुरु गरेको छ।

लेदोले पुरेको आरुघाट–माछीखोला सडकको छेपारेभीरमा दुई र सोतीमा एउटा मेसिन लगाइएको गोरखा सडक योजनाका कार्यालय प्रमुख बिनोद पुनले बताउनुभएको छ। उहाँका अनुसार मंगलबारसम्म उक्त सडक सञ्चालनमा आउने सम्भावना छ। सरकारले दसैंअघि नै अवरुद्ध सबै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

स्रोत

सम्बन्धित समाचार