पूजाका लागि बनाइएको चिल्लो पदार्थ 'घिउ' भनेर बेच्न प्रतिबन्ध

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन र दीप प्रज्वलनका लागि बनाइने चिल्लो पदार्थलाई घिउका नाममा उत्पादन, भण्डारण र बिक्री गर्न रोक लगाएको छ। विभागले सोमबार सार्वजनिक सूचना जारी गरी यस्तो पदार्थलाई खानयोग्य घिउ वा ‘पूजा घिउ’ भनेर बजारमा पठाउन नपाइने जनाएको छ। बजार अनुगमन र उपभोक्ताका गुनासोका आधारमा केही उत्पादकले प्याराफिन, खनिज तेल, परिष्कृत तेल, वनस्पति घिउ, बेकरी सर्टेनिङ र रसायन मिसाएर पूजा सामग्री बनाइरहेको पाइएको विभागको भनाइ छ।
रङ, गन्ध, रूप र प्याकेट सक्कली घिउजस्तै देखिँदा उपभोक्ताले झुक्किएर खानामा प्रयोग गर्ने जोखिम रहेको विभागले उल्लेख गरेको छ। त्यसैले विभागबाट खाद्य उद्योगको अनुमतिपत्र लिएका उत्पादकलाई यस्तो पदार्थ उत्पादन र बिक्री नगर्न निर्देशन दिइएको छ। सूचनाअनुसार पूजा र बत्ती बाल्ने प्रयोजनका लागि यस्तो पदार्थ बेच्दा लेबलको अगाडि ठूलो अक्षरमा ‘खानाको लागि होइन’ लेखी कालो क्रस चिह्न राख्नुपर्नेछ।
त्यस्ता लेबलमा घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङ शब्द लेख्न पाइने छैन। खाद्य र अखाद्य वस्तुबीचको मिसावट तथा गलत लेबलिङ रोक्न यो निर्णय गरिएको विभागले जनाएको छ। निर्देशन नमान्ने उत्पादक र व्यवसायीलाई कारबाही गरिने चेतावनी विभागले दिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


