२७ असोज २०८३ English
English

नवरात्र: नक्साल भगवती झिलिमिली, पशुपति क्षेत्रका शक्तिपीठमा विशेष पूजा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवरात्र: नक्साल भगवती झिलिमिली, पशुपति क्षेत्रका शक्तिपीठमा विशेष पूजा

YouTube मा सब्स्क्राइब

नवरात्रका अवसरमा काठमाडौँको नक्सालस्थित भगवती मन्दिर रङ्गीबिरङ्गी झिलिमिली बत्तीले सजिएको छ। बडादसैँको तयारीसँगै मन्दिरलाई आकर्षक ढङ्गले सिँगारिएपछि परिसरमा चाडको उत्साह र रौनक थपिएको छ। दसैँमा देवी दुर्गा भवानीको दर्शन र पूजाआराधनाका लागि भक्तजन उपत्यकाका विभिन्न शक्तिपीठ पुग्ने परम्परा छ।

यही क्रममा नक्साल भगवतीसहित उपत्यकाका प्रमुख देवी मन्दिरमा दर्शनार्थीको चहलपहल बढ्ने गरेको छ। नेपाल फोटो लाइब्रेरीका सुर्याम्स उप्रेतीले सजिएको मन्दिरको दृश्य तस्बिरमा कैद गर्नुभएको छ। यसैबीच, पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा यस वर्षदेखि नवरात्रभर विशेष पूजा सुरु गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीका अनुसार विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित यो पूजा आयोजना गरिएको हो। पशुपतिनाथ मन्दिरसहित क्षेत्रभित्रका सबै महाशक्ति पीठ र देवदेवीमा नवरात्र अवधिभर पूजा गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभएको छ। पाशुपत क्षेत्रमा रहेका प्रसिद्ध गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी र राजराजेश्वरी शक्तिपीठ यसमा समेटिएका छन्।

त्यसैगरी बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी पीठमा पनि विशेष पूजा भइरहेको छ। दसैँलाई शक्ति उपासना र धार्मिक आस्थाको पर्वका रूपमा मनाइने भएकाले नवरात्रमा देवी मन्दिर र शक्तिपीठमा विशेष भीड लाग्ने गर्छ।

स्रोत

सम्बन्धित समाचार