कञ्चनपुरको बस्तीनजिक पाटेबाघ, धपाउन निकुञ्जले हात्ती खटायो

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलियामा बस्तीनजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन २ वटा हात्ती खटाएको छ। निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार उक्त क्षेत्रमा पछिल्लो ४–५ दिनदेखि बाघ देखिँदै आएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको थियो। बाघ बारम्बार देखिन थालेपछि निकुञ्जले निगरानी कडा बनाउन उक्त क्षेत्रमा क्यामेरा जडान गरेको थियो।
रेञ्जर चौधरीका अनुसार गएराति पनि क्यामेरामा बाघ कैद भएपछि निकुञ्जले शुक्लाफाँटाबाट हात्ती पठाउने निर्णय गरेको हो। निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोस्टबाट ल्याइएका हात्तीको सहायताले बाघलाई बस्तीछेउबाट हटाएर जङ्गलतर्फ फर्काउने काम भइरहेको छ। हात्तीसँगै निकुञ्जको सुरक्षाका लागि बेलडाँडी पोस्टमा तैनाथ नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारी पनि बाघ धपाउने काममा परिचालित छन्।
बाघ नजिकैको उखुबारीमा रहेको खबर पनि आएको रेञ्जर चौधरीले जानकारी दिनुभएको छ। त्यसैले उक्त क्षेत्र हुँदै आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


