१३ कात्तिक २०८३ English
English

अर्नबको प्रभाव: आज र भोलि देशभर वर्षा, हिमाली भेगमा हिमपात

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अर्नबको प्रभाव: आज र भोलि देशभर वर्षा, हिमाली भेगमा हिमपात

YouTube मा सब्स्क्राइब

बङ्गालको खाडीमा बनेको चक्रवात अर्नब र पश्चिमी वायुको आंशिक असरले देशभर बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ।

भोलि देशभरि नै बादल लाग्ने र मधेश, बागमती, गण्डकी तथा लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरी चल्ने पूर्वानुमान छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हिमाली भेगमा बिहीबार बेलुकैदेखि हिमपात सुरु भएर शनिबारसम्म जारी रहन सक्छ। उहाँका अनुसार नेपाल आइपुग्दा चक्रवात कमजोर भइसकेको छ, तर वर्षा, हिमपात र सामान्य हावाहुरीको सम्भावना कायमै छ।

काठमाडौँमा तापक्रम १३ देखि १५ डिग्री सेल्सियस र वर्षाको सम्भावना ४० प्रतिशत रहने विभागले जनाएको छ। पोखरामा १४ देखि १६ र जनकपुरमा २० देखि २२ डिग्री सेल्सियस तापक्रम रहने अनुमान छ। बाढी पूर्वानुमान महाशाखाले नारायणी, बागमती र कोशी जलाधार आसपासका राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र नदी किनारमा कटानको जोखिम औँल्याएको छ।

सरकारले मातहतका सबै निकायलाई उच्च सतर्कतामा राखेको छ र सुरक्षाकर्मीले माइकिङमार्फत सचेत गराइरहेका छन्। पर्यटन विभागले पदयात्रा र पर्वतारोहणमा निस्कनुअघि आधिकारिक पूर्वानुमान हेर्न आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार