चक्रवात अर्नब नेपाल आइपुग्दा केही कमजोर हुने, हिमालमा जोखिम कायमै

बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवात 'अर्नब' नेपाल आइपुग्दासम्म कमजोर हुने भए पनि यसको जोखिम कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार समुद्रमाथि अत्यन्त शक्तिशाली रहेको यो प्रणाली बुधबारसम्म, ढिलोमा बिहीबार बिहानसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा छिर्नेछ। जमिनमा पुगेपछि यो कमजोर हुँदै उत्तरपश्चिम नेपालतर्फ अघि बढ्ने र न्यून चापीय क्षेत्रका रूपमा सीमित हुन सक्ने उहाँले बताउनुभएको छ।
तर अनुमानित मार्ग नेपालतर्फ रहेकाले प्रभावलाई हल्का रूपमा लिन नहुने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मंगलबार र बुधबार धेरैजसो ठाउँमा मौसम मुख्यतया सफा रहनेछ। बिहीबारदेखि मौसम बिस्तारै फेरिने र शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना बढ्ने विभागले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै नेपाल प्रहरीले कात्तिक १३ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको खतरा उच्च रहेकाले प्रहरीले विशेष सावधानी अपनाउन भनेको छ। मौसम जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


