‘कहीँ नभएको जात्रा’: हाँडीगाउँमा तीन दिने जात्रा

काठमाडौँको हाँडीगाउँमा तीन दिनसम्म चल्ने चोक्काथुनारायण जात्रा सुरु भएको छ। दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि मनाइने यो पर्वलाई चोक्टे नारायण जात्रा पनि भनिन्छ। 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखान यही जात्रासँग जोडिएको छ।
जात्रामा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीकका रूपमा तीनवटा खट निकालेर टोलटोल घुमाइन्छ। ब्रह्माको खट माथिल्लो ठटाल टोलबाट, नारायणको बीचको न्याल्म टोलबाट र महेश्वरको तल्लो कोटाल टोलबाट निकालिन्छ। जात्राको सुरुमा तीनवटै खटलाई एकै लहरमा राखिन्छ।
अरू जात्रामा गजुर माथि रहने चलन भए पनि यहाँका खटमा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ। बाँस र काठले बनेका खटलाई तलबाट जोडले घुमाउँदै परिक्रमा गराइन्छ। खट सजाउन मैनबाट बनाइएका सुगन्धित फूल प्रयोग गरिन्छन्।
यिनै अनौठा विधिका कारण यसलाई अन्यत्र नभएको जात्रा भनिएको स्थानीयको भनाइ छ। खट टोल हुँदै अघि बढ्दा स्थानीयले पूजा गरेर जात्रालाई स्वागत गर्ने चलन छ। तीनवटै खटको दर्शन र पूजाआराधनामा स्थानीय बासिन्दा र भक्तजन सहभागी हुने गरेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

