बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङको क्षेत्रीय विपद् रूपरेखा प्रस्ताव, अमित शाहसँग भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा 'बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा' बनाउने प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकमा उहाँले जलवायु परिवर्तनले बढाएको विपद् जोखिम सामना गर्न यससम्बन्धी संयुक्त कार्यदल बनाउन प्रस्ताव राख्नुभएको गृह मन्त्रालयले जनाएको छ। गुरुङले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
अवैध वित्तीय प्रवाह र साइबर अपराध रोक्न सदस्य राष्ट्रबीच सुरक्षित सूचना आदानप्रदान र संयुक्त प्रतिकार्यमा उहाँले जोड दिनुभएको थियो। बैठकका अवसरमा गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच मङ्गलबार द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा सुरक्षा सहयोग, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण र विपद् तयारीबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाली उद्योगी र व्यवसायीले भारतीय बजारमा भोगिरहेका बिआइएस प्रमाणीकरणजस्ता प्राविधिक समस्या समाधानमा गुरुङले चासो राख्नुभएको थियो। मन्त्रालयका अनुसार भारतीय पक्षले यसमा सकारात्मक प्रतिक्रिया दिएको छ। गुरुङले नेपालमा हालै आएको बाढी र पहिरोपछि समयमै सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
सार्वभौम समानता र पारस्परिक सम्मानका आधारमा दुई देशबीच व्यावहारिक सहयोग बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो। गृहमन्त्री गुरुङ सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


