प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिरको दोस्रो साता

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिरको दोस्रो साता हुने सम्भावना देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री भारत जाने कुरा बताउनुभएको छ। पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा भ्रमण मङ्सिर दोस्रो साता हुने समाचार आएका थिए।
मन्त्री खनालले भ्रमण सञ्चारमाध्यममा आएको समयकै वरिपरि हुने सङ्केत गर्नुभएको छ। तर भ्रमणको मिति अहिलेसम्म औपचारिक रूपमा तय भइनसकेको उहाँले स्पष्ट पार्नुभएको छ। वर्तमान सरकार बनेदेखि नै नेपाल र भारतका सरकारबीच नियमित रूपमा सम्पर्क कायम रहेको मन्त्री खनालले जानकारी दिनुभएको छ।
प्रधानमन्त्रीको भ्रमण परिणाममुखी र उपलब्धिमूलक होस् भन्ने सरकारको चाहना रहेको उहाँको भनाइ छ। उहाँका अनुसार व्यापार र पारवहन, कनेक्टिभिटी, ऊर्जा तथा सीमासम्बन्धी विषयमा भ्रमणबाट कुनै न कुनै सकारात्मक प्रगति हासिल होस् भन्ने नेपालको अपेक्षा छ। भ्रमणका बेला केही ठूला पूर्वाधार र जलविद्युत् आयोजनाको उद्घाटन तथा शिलान्यास हुने बताइएको छ।
दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि रहन सक्ने जनाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


