३१ असोज २०८३ English
English

एमाले सांसद थापाको राजीनामा स्वीकृत, सुदूरपश्चिम प्रदेशसभामा तीन सिट रिक्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमाले सांसद थापाको राजीनामा स्वीकृत, सुदूरपश्चिम प्रदेशसभामा तीन सिट रिक्त

YouTube मा सब्स्क्राइब

सुदूरपश्चिम प्रदेशसभाका नेकपा एमाले सांसद तथा पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ। सभामुख भीमबहादुर भण्डारीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो। प्रदेशसभाबाट गत मङ्गलबार बजेट पारित भएलगत्तै थापाले सांसद पद छाड्नुभएको थियो।

आफ्नो निर्वाचन क्षेत्रका लागि बजेटमा पर्याप्त विकास योजना नपरेको र बजेट बनाउने तथा पारित गर्ने प्रक्रियाप्रति असन्तुष्ट भएकाले पद छाडेको उहाँले बताउनुभएको थियो। राजीनामा दिएको तीन दिनपछि त्यो स्वीकृत भएको हो। थापा कञ्चनपुर १ को प्रदेशसभा क्षेत्र (१) बाट प्रत्यक्ष रूपमा निर्वाचित हुनुहुन्थ्यो।

उहाँ यसअघि प्रदेश सरकारमा मन्त्री पनि बन्नुभएको थियो। यो राजीनामासँगै प्रदेशसभामा एमालेका सांसद ११ बाट घटेर १० जना पुगेका छन्। ५३ सदस्यीय प्रदेशसभामा अहिले तीन सिट रिक्त भएका छन्।

डडेल्धुरा १ को प्रदेशसभा क्षेत्र (२) बाट विजयी स्वतन्त्र सांसद तारा जोशीले यसअघि नै राजीनामा दिनुभएको थियो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ। कैलाली ५ को प्रदेशसभा क्षेत्र (२) को सिट पनि यसअघिदेखि नै रिक्त रहेको छ।

संविधानअनुसार प्रदेशसभा सदस्यले राजीनामा दिएपछि उक्त स्थान रिक्त हुन्छ। थापाको राजीनामाबारे सभामुखले प्रदेशसभाको आगामी बैठकमा जानकारी गराउनुहुनेछ।

स्रोत

सम्बन्धित समाचार