ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको विषय उठाउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग, अर्थात् यूएन इस्क्यापले आयोजना गरेको पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा उहाँ सहभागी हुनुहुनेछ। एसिया–प्रशान्त क्षेत्रको दिगो विकासमा अन्तरिक्ष प्रविधिको उपयोगमा केन्द्रित यो सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
बिहीबार उहाँले थाइल्याण्ड, नेपाल र यूएन इस्क्यापले संयुक्त रूपमा आयोजना गर्ने कार्यशालालाई पनि सम्बोधन गर्नुहुनेछ। ‘सगरमाथादेखि सागरसम्म’ शीर्षकको उक्त कार्यशालामा भोटेकोशी–त्रिशूली घटनाबाट शृङ्खलाबद्ध विपद् रोकथामबारे नेपालले सिकेका पाठमाथि छलफल हुनेछ। मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार सम्मेलनको बेला विभिन्न देशका मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि तय भएको छ।
भेटवार्ता र सम्मेलनमा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय भूउपग्रहको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउनुहुनेछ। भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ र मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौलालगायत हुनुहुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


