धान पाक्यो, चक्रवातको चेतावनीले काट्ने कि नकाट्ने दुविधामा किसान

बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणाली बलियो भई चक्रवातमा बदलिन सक्ने अनुमानपछि धान पाकेका खेतका किसान काट्ने कि नकाट्ने भन्ने दुविधामा परेका छन्। पूर्वानुमानअनुसार भोलि बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बदली हुने, छिटपुट वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसमविद्हरूले बुधबारदेखि शनिबारसम्म देशभर पानी पर्ने बताएका छन्।
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति हुन सक्ने भन्दै पाकेको धान मङ्गलबारसम्म थन्क्याइसक्न आग्रह गरेको छ। केन्द्रका कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार पाकेको धानमा असिना वा पानी परे दाना झर्ने र भिज्ने हुँदा ठूलो आर्थिक नोक्सानीको जोखिम हुन्छ। तर ठूलो वर्षा कुन ठाउँमा पर्छ भनेर अहिल्यै पक्का भन्न नसकिने उहाँले बताउनुभएको छ।
काट्न बाँकी धान भए अर्को हप्तासम्म पर्खन उहाँले सुझाव दिनुभएको छ। पानी पर्ने खबरपछि केही किसानले हतारमा धान काटेर भित्र्याइसकेका छन् भने धेरै ठाउँमा अझै बाँकी छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० हटिया फाँटका किसान फणिराज अधिकारीले करिब १२ कट्ठामा लगाएको धान काट्ने निर्णय गर्न नसकेको बताउनुभएको छ।
गोरखाको दरौँदी नदी किनारका फाँटमा पनि दसैँपछि धान भित्र्याउने चटारो छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


