‘ऊनको स्वीटर’को सिक्वेलको छायांकन सिक्किममा सुरु

नेपाली चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो भाग ‘कलेजी–ऊनको स्वीटर’को छायांकन भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट सुरु भएको छ। निर्देशक नवीन चौहानका अनुसार सोमबार पहिलो दिन भारतीय अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएका छन्। पीयूष मिश्रा अभिनेतासँगै लेखक, गायक र नाटककारका रूपमा पनि चिनिन्छन्।
स्थानीय लामा गुरुहरूले मन्त्र पढेर शुभमुहूर्त गरेपछि काम थालिएको हो। सुरुआती कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी र भारतीय सेनाका प्रतिनिधिको उपस्थिति रहेको चौहानले बताउनुभएको छ। अघिल्लो फिल्मका काफ्ले, फूल, डम्बर र ईक्क्षा पात्रको कथालाई अघि बढाउँदै नयाँ भागमा प्रेम, जीवन र मानवीय संवेदनाका थप पाटा देखाइने निर्देशकको भनाइ छ।
नेपालसँगै दार्जिलिङ, सिक्किम र दिल्लीमा पनि फिल्मको छायांकन गर्ने योजना छ। आर्टमाण्डुको निर्माण रहेको फिल्मको लेखन र निर्देशन चौहान आफैँले गर्दै हुनुहुन्छ। ‘ऊनको स्वीटर’ गत वर्ष प्रदर्शनमा आएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


