बाढीले सडक टुटेका गोरखाका बस्तीमा ड्रोनबाट राहत

बाढीले सडक बगाएपछि बाहिरसँग सम्पर्क टुटेका गोरखाका दुर्गम बस्तीसम्म ड्रोनको सहायताले राहत पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गाडी पुग्न नसक्ने ठाउँमा राहत ढुवानी गर्न ड्रोन उडाइरहेको जनाएको छ। दसैँको बिदामा पनि पीडित परिवारलाई चाहिने सामग्री नरोकियोस् भनेर यो काम जारी राखिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार प्राधिकरणसँग अहिले ४ वटा ड्रोन छन्। ती ड्रोनबाट गोरखासँगै रसुवाका सडक टुटेका क्षेत्रमा पनि राहत वितरण भइरहेको उहाँले बताउनुभएको छ।
भूगोल कठिन र बाटो बन्द भएका ठाउँमा राहत पुर्याउन ड्रोन प्रभावकारी बनेको डा. उप्रेतीको भनाइ छ। बाढीले सडक र पुलजस्ता संरचना बगाएपछि प्रभावित बस्तीमा सामान पठाउने काम प्राधिकरणका लागि कठिन बनेको छ।
त्यसैले उद्धार र राहत दुवै काममा ड्रोनको अधिकतम प्रयोग गरिएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
भोलि यी तीन प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
