नागढुङ्गा सुरुङमार्गमा आजदेखि सवारी दस्तुर लाग्न थाल्यो

नागढुङ्गा सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले आज कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। भित्रिने र बाहिरिने सवारीका लागि वर्गअनुसार छुट्टाछुट्टै दर तोकिएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक गरेको दरअनुसार काठमाडौँ भित्रिने कार, जिप, भ्यान, पिकअप र माइक्रोबसजस्ता हलुका सवारीले ६५ रुपैयाँ तिर्नुपर्नेछ।
यस्ता सवारी काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनीबस र मिनी टिपर वा ट्रकलाई भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस र सिंगल रियर एक्सल ट्रकले प्रवेशमा २६० रुपैयाँ र प्रस्थानमा २०० रुपैयाँ बुझाउनुपर्नेछ।
मल्टी एक्सल ट्रक र भारी उपकरणका लागि यो दर क्रमशः ६०० र २५० रुपैयाँ छ। सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ मा गरेको निर्णय र २०८२ चैत २६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दस्तुर उठाउन थालिएको हो। आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङ हुँदै उपत्यका आउने र जाने हरेक सवारीले राजपत्रको वर्गीकरणअनुसार शुल्क तिर्नैपर्नेछ।
सुरुमा नगद र क्युआर कोडबाट भुक्तानी गर्न सकिन्छ। पछि आरएफआइडी कार्ड र ट्यागमार्फत स्वचालित भुक्तानी लागू गर्ने तयारी भइरहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

