राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ मिसेस नेपाल वर्ल्ड २०२६

नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को शीर्ष उपाधि जित्नुभएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले शनिबार राति काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा गरेको प्रतियोगिताको छैटौँ संस्करणमा उहाँले २१ जना प्रतिस्पर्धीलाई पछि पार्नुभएको हो। प्रतियोगी नम्बर १६ का रूपमा सहभागी गुरुङ खोटाङको दित्तेलकी हुनुहुन्छ र अधिवक्तासमेत हुनुहुन्छ।
उपाधिसँगै उहाँले स्कुटर पाउनुभएको छ र अमेरिकामा हुने विवाहित महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। उहाँले बेस्ट पर्सनालिटी उपउपाधि पनि जित्नुभएको छ। मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न, अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलगायतले उहाँलाई ताज र स्यास पहिराउनुभएको थियो।
नेहा गुप्ता प्रथम, ज्योति लामिछाने दोस्रो र सगुन खनाल तेस्रो रनर्सअप बन्नुभएको छ। नेहा गुप्ताले म्यानेजमेन्ट च्वाइस र सगुन खनालले बेस्ट फिजिकको उपाधि पनि पाउनुभएको छ। शिल्पा न्यौपाने महर्जनले मिसेस नेपाल इन्टरनेसनल, क्रिस्टिना ज्ञवालीले मिसेस नेपाल कस्मो र ऋचा शर्माले एमएस नेपाल इन्टरनेसनलको उपाधि जित्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


