१४ असोज २०८३ English
English

इरानले ठोस आणविक प्रस्ताव ल्याए प्रतिबन्धमा राहत दिन ट्रम्प तयार, एनपीटी नछाड्न रुसको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इरानले ठोस आणविक प्रस्ताव ल्याए प्रतिबन्धमा राहत दिन ट्रम्प तयार, एनपीटी नछाड्न रुसको आग्रह

YouTube मा सब्स्क्राइब

इरानले आणविक कार्यक्रमबारे ठोस प्रस्ताव अघि सारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथिको आर्थिक प्रतिबन्धमा राहत दिन र रोक्का रकम फुकुवा गर्न तयार रहेको अमेरिकी अधिकारीले जनाएका छन्। मध्यस्थकर्तामार्फत भइरहेको छलफल सकारात्मक रहे पनि आणविक विषय नसुल्झिएसम्म सम्झौता नहुने ती अधिकारीको भनाइ छ। अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकोफ, जारेड कुसनर, उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले वार्ताको नेतृत्व गरिरहेका थिए।

ट्रम्पले यसै साता इरानसँग थप वार्ता हुने अपेक्षा अमेरिकी सञ्चारमाध्यम एक्सियोसलाई आइतबार बताउनुभएको थियो। अधिकारीका अनुसार इरानले लचकता देखाउने सङ्केत दिए पनि प्रतिबद्धताको समयसीमामा दुवै पक्ष सहमत भइसकेका छैनन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले न्यूयोर्कमा कतारी मध्यस्थकर्तामार्फत अमेरिकासँग थप सम्पर्क भएको सोमबार उल्लेख गर्नुभएको छ।

यसैबीच रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरान परमाणु अप्रसार सन्धि अर्थात् एनपीटीबाट बाहिरिनु नहुने बताउनुभएको छ। यो सन्धिले इरानलाई परमाणु हतियार बनाउन वा प्राप्त गर्न रोक लगाउँछ। इरानी संसद्का उपाध्यक्ष अली निकजादले सन्धि छाड्ने तीन चरणको योजनामाथि संसद्ले विचार गर्ने मङ्गलबार बताउनुभएको थियो।

उहाँले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी र यसका महानिर्देशकप्रति विश्वास नरहेको पनि भन्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार