नेपालमा पहिलोपटक कलर्ड किङफिसर चरा भेटियो, चरा प्रजाति ९०४ पुगे

नेपालमा पहिलोपटक कलर्ड किङ्गफिशर नामको चरा अभिलेख भएको छ। नेपाल पक्षीविद् सङ्घले विज्ञप्ति जारी गर्दै यो नयाँ प्रजाति थपिएको जानकारी दिएको छ। सङ्घका अनुसार चरा अवलोकनकर्ता अनिल मण्डलले असोज १३ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुवा मङ्गलैया फाटक नजिक यो चराको फोटो खिच्नुभएको थियो।
नेपाल पक्षी रेकर्ड समितिले स्वदेशी तथा विदेशी पक्षीविद्सँग मिलेर चराको पहिचान पुष्टि गरेको सङ्घले जनाएको छ। यो चरा मुख्य रूपमा दक्षिण एसिया र अस्ट्रेलियाका समुद्री तटीय क्षेत्रमा पाइन्छ। समुद्र किनारमा बस्ने यो चरा बाटो भुलेर वा मौसमका कारण धनुषासम्म आइपुगेको हुनसक्ने अनुमान गरिएको छ।
यो नयाँ अभिलेखसँगै नेपालमा अभिलेख भएका चरा प्रजातिको कुल सङ्ख्या ९०४ पुगेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


