सोह्र श्राद्ध सकियो, घटस्थापनाको तयारीमा बजारमा चहलपहल

सोह्र श्राद्ध आज औँसीको दिन पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सकिँदै छ भने भोलि आइतबार असोज २५ गते घटस्थापनासँगै बडादसैँ सुरु हुँदै छ। पितृ पक्षका १५ तिथिमा शुक्ल प्रतिपदाको एक दिन थपिँदा सोह्र तिथि पुग्ने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। अन्य तिथिमा छुटेको श्राद्ध पनि औँसीकै दिन गर्ने चलन छ।
आज पनि श्राद्ध गर्न नभ्याउनेले आश्विन शुक्ल पञ्चमीसम्म गर्न सक्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभएको छ। सोह्र श्राद्ध सकिने दिन तीर्थस्थल र नदी किनारमा तर्पण गर्नेको घुइँचो लाग्ने गर्छ। यता काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा जमरा राख्न माटाका भाँडा, मकै र जौ किन्नेको चहलपहल बढेको छ।
घटस्थापनामा छरिने जौ र मकैबाट उम्रेको जमरा टीकाका दिन मान्यजनबाट ग्रहण गरिन्छ। धनकुटाका हाटबजारमा खसीबोका किन्नेको भीड लागेको छ। त्यहाँ खसीबोकाको मासु प्रतिकेजी करिब ९ सयदेखि ११ सय रुपैयाँसम्म बिक्री भइरहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


