२४ असोज २०८३ English
English

किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

YouTube मा सब्स्क्राइब

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ। वीरेन्द्र सभागृहमा शुक्रबार भएको उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात नराखिए पूर्वमा फेरि आन्दोलन उठ्ने चेतावनी दिनुभएको छ। उहाँले प्रदेशको सरकारी कामकाजी भाषामा राई समुदायका कम्तीमा २ भाषा समेट्न र किरात सिरिजङ्गा लिपि अपनाउन माग गर्नुभएको छ।

यसो गर्दा कसैलाई हानि नहुने उहाँको तर्क छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा र संस्कृति देशकै अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभएको छ। यायोक्खाले संविधानमै उल्लेख भएका विषय कार्यान्वयन गर्न माग गरेको र प्रदेश सरकारले ती माग पूरा गर्नुपर्ने उहाँको भनाइ छ।

खापुङले यलम्बर, जितेदस्तिजस्ता किरातकालीन शासकदेखि नेपालका हरेक परिवर्तनमा राई समुदायको योगदान रहेको उल्लेख गर्नुभएको छ। आदिवासी जनजाति महासङ्घका अध्यक्ष मेजर योगेस राईलगायतले शुभकामना दिनुभएको छ। उद्घाटनअघि सहभागीले रोडसेस चोकबाट सभागृहसम्म र्‍याली निकाल्दै कोशी नाम खारेज गरी किरात प्रदेश बनाउन नारा लगाएका थिए।

महासचिव भीम राईका अनुसार मनास्लु होटलमा हुने दुईदिने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ। देश तथा विदेशका शाखा र भाषिक तथा भातृ संगठनबाट करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने उपमहासचिव अर्जुन जम्मेली राईले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार